म्हपुजा

– अमिता श्रेष्ठ, सदस्य, पासा पुच: गुथि युके लण्डन
 

 

परिचय
म्हपुजा नेवार समुदायको धार्मिक र सांस्कृतिक महत्त्व बोकेको पर्व हो। म्हपुजा भन्नाले आफ्नो शरीर वा आत्माको पूजा हो। यो पूजा सम्पूर्ण परिवार एकसाथ बसी सुस्वास्थ्य, दीर्घायु, शान्ती र समृद्धिको कामना गर्दै मनाइन्छ। म्हपुजा ‘स्वन्ति नख:’ चाडमा पर्छ भने यस दिन नेवार समुदायको नयाँ वर्ष (नेपाल सम्बत) पनि हो। म्हपुजा ठाँऊ र चलन अनुसार फरक फरक तरिकाले मनाएता पनि यसको मूल मर्म भने सुख-शान्ती र दीर्घायु होस् एवं जीवनमा वाधा-अड्चन र दु:ख-कष्ट नआओस् भन्ने नै हो।

 

म्हपुजा गर्न चाहिने सामाग्रीहरू
 
पूजाको सामान
फूल, अक्षता, सिन्दुर, नैवेद्य, इता, जजंका, धूप, दीप, आँखे (घरमा सिलौटाले धानलाई थिचेर निस्केको सिंगो चामल), ताँथ (धानलाई भुटेर निस्केको फूल), पोताय् (चामलको पिठोमा रातो र पहेंलो टिका मिसाएको), कालो भटमास, बदाम, कटुस, माना-पाथी, सुकुन्दा, कूचो, नाङ्लो, सयपत्री फूल, ओखर, आदी।
फलफूल
विमिरो (तसि), अम्बा, केरा, सुन्तला, ओखर, हलुवाबेद, भोंगते, फलफूल आ-आफ्नो गच्छे अनुसार ५ प्रकारको राख्ने चलन छ।
मिठाइहरू
मुतिमरि, द्योमरि, सेलमरि, हल्वाइ मरि, साथै कसैकसैको भने योमरि पनि बनाउने चलन छ।
सगुनको सामाग्री
अण्डा, माछा, मासु, अदुवा, लसून, व:, अय्‌ला, दहि, माछा (नभएमा मासु मात्र पनि राख्ने चलन छ) र कसैकसैको अण्डा र व: मात्र पनि राख्ने चलन छ।
 

म्हपुजा गर्ने विधि

पूजा गर्नु अगाडि घरलाई सरसफाइ गरी लिप-पोत गरिन्छ। सबैजना नुहाइ-धुवाइ गरी, चोखो भई पूजामा बस्छन्। यस पुजामा परिवारका सबै सदस्य पूर्व वा पश्चिम तिर फर्केर घरको सबैभन्दा जेठा देखि सानो हुँदै लाइनमा बस्छन्। घरको मूली महिला (नकिं) ले सबै परिवारका सदस्यहरूको सुस्वास्थ्य र दीर्घायुको कानमा गर्दै पूजा गर्दछिन्। पूजा गरिने ठाँऊमा सबै सदस्यहरूका लागि आ-आफ्नो नाममा एउटा-एउटा मण्डप (मन्द:) बनाइन्छ।

 

मण्डप बनाउने विधि
मण्डप बनाउँदा खास गरी परापूर्व कालदेखि चलिआएको तान्त्रिक विधिबाट बनाइन्छ। तर अहिले मण्डप बनाउन सजिलोका लागि रेडिमेड कागज पनि किन्न पाइन्छ। तर पनि चलन अनुसारको फरक फरक किसिमले बनाइन्छ। विधिअनुसार सामान्यतया काँचो शुद्ध धागालाई तेलमा चोपेर गोलाकार बनाइन्छ। त्यसको बीचमा तेलमा मिसाएको पाँच थोप्लाको रातो टिका राखिन्छ। चामलको पिठोमा आधी रातो र आधी पहेंलो टिका मिसाएर बनाइने पोताय्‌को गोलाकार बनाइन्छ। यसको चारै तिर भटमासले घेरिन्छ। मण्डपलाई जति सक्छ विभिन्न रंग, आँखे, पोताय्, ताय् र सयपत्री फूलले सजाएर जति सकिन्छ त्यति राम्रो बनाइन्छ।

 

हरेक मण्डपमा वा छेउमा मुतिमरि, द्योमरि पनि राखिन्छ। साथै मण्डपको छेउमा माथितिर पाँच प्रकारको फलफूल राखिन्छ। विमिरो माथि जजंका र भए अनुसारको फूलको माला पनि राखिन्छ। जजंका तासको कपडामा ६ वटा आँखेलाई पोको पारेर त्यसै सँग पंचरंगी (पाँच रंगको) कपडा लाम्चो काटेर फुर्का बनाएर ६ चोटी काँचो धागो दोहोराई बनाइन्छ। यो जजंका हाम्रो शरीर जत्तिकै लामो बनाइन्छ। फलफूलसँग सेलमरि (सेलरोटी), मिठाइ, पान, मसला प्व: (किसमिसको पोका) गच्चे अनुसार किश्तीमा भाग राखिन्छ।
मण्डपलाई चारै तिर कालो भटमास, आँखेले घेरेर बनाउनुको अर्थ आफूलाई सुरक्षित् बनाएको मानिन्छ भने रातो टिका मण्डपको बीचमा राख्नु चाँहि आफू बसेको मानिन्छ। यसरी गरेको म्हपुजाले अनिष्ट, दु:ख-कष्ट तर्ने मान्यता छ।

 

पूजा गर्ने तरिका
पूजा गर्ने क्रम सर्वप्रथम गणेशजी अंकित् सुकुन्दाको पूजाबाट शुरू हुन्छ। देवताको नाममा पनि मण्डप बनाएको हुन्छ। घरको मूली महिला (नकिं) ले सबैको मण्डपमा पूजा गर्न लगाइन्छ। सबै परिवारका सदस्यहरूलाई सिन्ह (दहि, चामल र सिन्दुर मिसाएर बनाएको टिका) लगाइ दिएर पूजा गरिन्छ र आ-आफ्नो मण्डपको पूजा पनि गरिन्छ। सबैलाई मूलीबाट हात-हातमा अक्षता (आँखे) र फलफूल दिइन्छ। त्यस उपरान्त सबैले अ-आफ्नो इता (बत्ती) लाई आँखे अक्षता र फूलले पूजा गरी आ-आफ्नो मण्डपको बीचमा भएको ओखर अथवा मुतिमरि माथि राखिन्छ। सग: (सगुन) नलिएसम्म निभाउन नहुने भएर इतालाई लामो गरी बनाइन्छ। त्यस पछि मण्डपको अगाडि राखिएको तसि (विमिरो) सहितको फलफूल र जजंका मालालाई नकिंद्वारा ल:ल्हाये (अर्पण) गरिन्छ। साथै मण्डपको अगाडि राखिएको द्योमरिमा बलेको धूप ठडाइन्छ।

 

यस पछि सबैले आ-आफ्नो जजंका लगाएर माना-पाथीमा सयपत्री फूलका पत्रहरू, ताय्, हाकु मुस्या (कालो भटमास), धान, चामल, ओखर, बदाम इत्यादिको मिश्रण तीन पटक प्रत्येकको घुँडा र कुममा छुवाएर टाउकामा खनाइन्छ। यसलाई लुकेगु भनिन्छ। लुकेगु सके पछि नकिंले सबैलाई दहिको टिका लगाइदिनु हुन्छ। तर मूली नकिंले चाँहि आफूलाई आफैबाट टिका ग्रहण गर्छिन्। यस पछि सग: दिने क्रम शुरू हुन्छ।

 

दाँया हातमा अय्‌ला भएको पला:चा र देब्रे हातमा व: माथि खेँ (अण्डा), न्या (माछा), ला (मासु), लाभा-पालु (अदुवा-लसून) राखेर सग: दिने चलन छ। यो सग: पनि ठाँऊ अनुसार फरक-फरक हुन्छ। सग: दिँदा ३ पटक अय्‌ला थपिदिने चलन अनुसार प्रत्येक पटक थपेको अय्‌ला सँग अण्डा, व:, माछा वा मासु एक-एक पटक खाने चलन छ। पूजाको अन्तमा सबैको हात-हातमा मुसिएको दहि-चिउरा दिइन्छ। त्यस पछि म्हपुजा सकेको मानिन्छ। यो पूजा व्यक्तिको मात्र होइन, घरमा भएका सजीव र निर्जीव वस्तु सबैको गरिन्छ। जस्तै कुकुर, कुखुरा आदि र नांग्लो, कूचो, पानी भरिएको गाग्रो आदिको पनि गरिन्छ।

 

अन्तमा देवतालाई चढाएको विमिरो काटेर मण्डपलाई बिगार्दै पूजा गरेको कूचाले माथिबाट तलतिर बढार्दै लक्ष्मीको आगमन होस् भनी कूचो लगाइन्छ। त्यही ठाँऊमा बसी केराको पातमा नेवा: परम्परा अनुसार विभिन्न परिकार राखेर भ्वय् (भोज) खाइन्छ। भ्वय् खाइसके पछि त्यहि ठाँऊमा बाटा र करूवा ल्याई सबैको पालै पालो गरी हात धुन लगाइन्छ जलाई नुसि हायेकिगु भनिन्छ। यसरी म्हपुजा समाप्त हुन्छ। धन्यवाद!